१.प्रारम्भिक जीवन र राजनीतिक चेतना
प्रखर राष्ट्रवादी युवा नेता योगेश भट्टराईको जन्मपूर्वी पहाडी जिल्ला ताप्लेजुङको साँघु गाविसमा भएको हो । मध्यमवर्गीय परिवारमा माता महेन्द्रादेवी र पिता स्व. भीमलालको छोराका रूपमा उहाँको जन्म ०२३ भाद्र २१ गते भएको हो । जन्मगाउँकै तत्कालीन नारायणी निमाविमा कक्षा सातसम्मको अध्ययन सकेर उहाँ माध्यमिक शिक्षाका लागि संखुवासभाको मादी माविमा भर्ना हुनु भयो, जो उहाँको गाउँबाट दुई दिनको पैदलयात्राको दुरीमा पर्दछ । उच्च शिक्षासँगै राजनीतिक यात्रा अघि बढाउने क्रममा उहाँले काठमाडौँलाई कर्मभूमि बनाउनुभयो । ०५१ सालमा उहाँले ताप्लेजुङ ढुङ्गेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गर्नुभयो । उहाँको स्थायी बसोबास हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ मा छ । चिनियाँ क्रान्तिताका नेपालमै ०२७÷२८ तिर झापमा भएको विद्रोह र त्यसले नेपालको पूर्वीक्षेत्रमा पारेको प्रभावले उहाँलाई राजनीतितिर तान्न थालेको थियो । त्यहीबेला समाजमा व्याप्त शोषण, उत्पीडन, अन्याय, अत्याचार र विभेदले उहाँको बाल मस्तिष्कमा विद्रोही भावना पनि जन्माइदियो ।

२. यात्राको गति र उच्चशिक्षा
विद्यालय जीवन मै २०३७ चैत्र १४ गते पञ्चायती व्यवस्था विरूद्ध अनेरास्ववियूले आह्वान गरेको नेपालकै पहिले ऐतिहासिक नेपालबन्द सफल पार्न उहाँ सक्रिय सहभागी हुनु भएको थियो । संगठित ढङ्गले उहाँको राजनैतिक यात्राको आरम्भ पनि त्यही थियो ।

एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा योगेश राजधानीको ताहाचलस्थित महेन्द्र रत्नक्याम्पसमा भर्ना हुनुभयो । पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा विषाक्त दूधका विरूद्ध भएको आन्दोलनका क्रममा १८ वर्षमै पहिलो पटक काठमाडौँको केन्द्रीय कारागारमा थुनिनु भएको थियो ।

सरल, स्पष्ट र सक्रिय स्वभावका कारण उहाँलाई महेन्द्र रत्न क्याम्पसको नेतृत्व लिन खासै समय लागेन । उहाँ क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित हुँदै अगाडि बढ्नु भयो । महेन्द्ररत्न क्याम्पसको स्ववियू निर्वाचनमा उहाँ पहिले उपसभापति र पछि सभापति पदमा अत्याधिक मतले विजयी हुनुभयो ।

यतिबेला पोल्याण्डबाट आयातित विषाक्त दूध बिक्री गरिएको विरूद्वको चर्चित आन्दोलन होस् या भारतको मेघालयबाट नेपाली लखेटिँदाको आन्दोलन होस् वा सहिद लक्ष्मी पाण्डे हत्या विरूद्धको आन्दोलन । उहाँले अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभएको थियो ।
यसरी पञ्चायती व्यवस्था र राजतन्त्रविरूद्ध दृढतापूर्वक अगाडि बढ्दै जाँदा उहाँले थुप्रै पटक जेलनेल र कठोर यातना भोग्नु परेको थियो । जेल बसाइँको बेलामा उहाँले झापा संघर्षका चर्चित अगुवाहरू के.पी. ओली, आर.के. मैनाली, मोहनचन्द्र अधिकारी लगायतअन्य राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तरक्रिया गर्ने अवसर पाउनु भयो, जसले उहाँको राजनीतिक यात्रालाई अझनिख्खर बनाउन सहयोग पु¥यायो । यही क्रममा उहाँले अनेरास्ववियूको काठमाडौँ जिल्ला कमिटीको सदस्य तथा बागमती अञ्चल कमिटीको सचिव भएर जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयवाट समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।

पञ्चायती व्यवस्थालाई समाप्त गर्न पञ्चायती चुनावलाई उपयोग गर्ने पार्टी नीतिलाई कार्यान्वय नगर्ने सिलसिलमा २०४३ मा भएको निर्वाचनमा काठमाडौँबाट वामपन्थी नेता पद्मरत्न तुलाधारलाई विजयी बनाउन काठमाडौँका गल्ली–गल्ली र गाउँगाउँमा चुनाव प्रचारकका रूपमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो ।

नेपालभाषा आन्दोलनलाई पहिचानपक्षीय र पञ्चायत विरोधी आन्दोलनमा रूपान्तरण गर्न चालिएका अभियानमा उहाँको आज पर्यन्त सक्रिय भूमिका रहेको छ ।

३. प्रजातान्त्रिक आन्दोलन र विद्यार्थी आन्दोलन
२०४६ सालदेखि अनेरास्ववियूको केन्द्रीय कमिटीमा काम गर्नु भएका उहाँ संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै ०५१ देखि ०५६ सम्म अध्यक्ष रहनु भयो । अनेरास्ववियूको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने क्रममा उहाँले नेपाली विद्यार्थी आन्दोलनको प्यारो संगठन अखिललाई नेपाली कम्युनिष्ट आन्दोलनको सफलताको संवाहक शक्तिका रूपमा स्थापित गर्न भूमिका निर्वाह गर्नुभयो । त्यतिमात्र नभएर अखिललाई मुलुकमा राष्ट्रवादी आन्दोलनको अगुवा शक्तिका रूपमा स्थापित गर्न उहाँले निर्वाह गर्नुभएको अग्रणी भूमिका हामी सबैका माझ ताजा छ । यसरी योगेश नेपाली विद्यार्थी आन्दोलनको पर्याय नै हुनुभयो ।

उहाँले २०४६ सालको संयुक्त जनआन्दोलनमा अनेरास्ववियूको तर्फबाट राजधानीको कमाण्ड सम्हाल्नु भएको थियो । सोही आन्दोलनमा काठमाडौँमा गिरफ्तारीमा पर्नुभयो, र सिन्धुपाल्चोक जिल्लाको चौतारामा जेलजीवन बिताउनु परेको थियो ।

२०४८ मा गठित नेपाली कांग्रेसको सरकारले गरेका जनघाती तथा राष्ट्रघाती कदमका विरूद्ध काठमाडौँ उपत्यकामा भएका सडक संघर्षहरूको नेतृत्व गर्ने अवसर समेत उहाँलाई मिलेको थियो । त्यसरी नै उहाँले जननेता मदन भण्डारी र जीवराजआश्रितको रहस्यमय हत्या विरूद्धको आन्दोलनमा अगुवाई गर्नुभयो ।

यसरी अनेक आन्दोलनबाट खाँरिदै, माझिदै युवा जोश र उत्साहकासाथ अघि बढिरहेका योगेश भट्टराईले खासगरी २०५०÷५१ सालतिर शिथिल भएको नेपाली विद्यार्थी आन्दोलनलाई नेपाली समाजमा पुनस्र्थापित गराउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ ।

आज पनि युवाहरूले अखिल भन्ने वित्तिकै योगेश भट्टराईलाई स्मरण गर्दछन् । उहाँ अनेरास्ववियूको अध्यक्ष भएको बेला सबैभन्दा बढी ७३ प्रतिशत क्याम्पसका स्ववियूमा अखिलले ऐतिहासिक सफलता हासिल गरेको थियो ।

४. प्रखर राष्ट्रवादी नेता
योगेशको आम व्यक्तित्व नेपाली राष्ट्रियताको पक्षमा संगठित ढङ्गले आवाज बुलन्द गर्ने एक देशभक्त तथा प्रखर राष्ट्रवादी नेताका रूपमा स्थापित छ । यसर्थ उहाँ नेपाली राष्ट्रियताका सच्चा पहरेदार हुनुहुन्छ ।

राष्ट्रवादी आन्दोलनका अनेक महत्वाकांक्षी कार्यक्रमलाई कार्यान्वयन गरेर उहाँले यो यथार्थलाई पुष्टि गरिसक्ुनभएको छ । भारतले कब्जा गरेको नेपालीभूमि कालापानी फिर्ता अभियान २०५५ सम्पन्न भएको थियो । त्यस अन्तर्गत २०५५ जेठमा काठमाडौँदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेर उहाँले आफ्नो राष्ट्रवादी छविलाई झन अग्लो पार्न सफल हुनुभएको थियो । त्यहीदेखि कालापानी मुद्दा राष्ट्रिय बहसको साझा विषय बनेको थियो ।

त्यति नै बेला नेपालका ६२ स्थानमा भारतले सीमाअतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो । पूर्वको पाँचथरको च्याङथापूदेखि सुस्ता, महेशपुर, टनकपुर हँुदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाई उहाँले नै गर्नुभएको थियो । यसरी उहाँ वैदेशिक हस्तक्षेपविरूद्व आन्दोलनमा आफूलाई अग्रभागमा उभ्याउन सफल हुनु भएको छ । हिमाल, पहाड, तराई÷मधेस सबै क्षेत्रका जनताको साझा मुटु भनेको राष्ट्रियता हो । हामी सबैले आ–आफ्नो ठाउँमा जातीय तथा साम्प्रदायिक सद्भाव र एकता कायम राख्दै नेपालको आन्तरिक एकता र राष्ट्रियतालाई मजुबुत बनाउनुपर्दछ भन्ने धारणा उहाँको छ ।

५. अप्रिल क्रान्तिका उपत्यका कमाण्डर
योगेशले २०६२÷६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले) को उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमाण्डरको भूमिका निर्वाह गर्नुभएको थियो । उक्त आन्दोलनमा उपत्यकाभित्र अन्य राजनीतिक दल, नागरिक समाज १२ बुँदे सहमति पश्चात् तत्कालीन माओवादीलाई समेत समन्वय गर्न उहाँले अग्रणी भूमिका खेल्नुभएको थियो ।

६. अब आर्थिक क्रान्ति
नेकपा (एमाले) पार्टीमा सुस्पष्ट विचार र दृष्टिकोण भएका नेताका रूपमा परिचित हुनुहुन्छ योगेश । पार्टीको पाचौँ महाधिवेशनमा जननेता मदन भण्डारीले अघि सार्नुभएको नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादको विचारलाई स्थापित गर्न उहाँले अनेरास्ववियूको तत्कालीन नेतृत्वका हिसाबले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

राजनीतिक दलहरूको लोकतान्त्रिक रूपान्तरणका लागि दबाबमूलक काम गर्दै उहाँ पार्टी र समाजमा युवा पुस्ताको निर्णायक उपस्थिति हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । त्यसलाई स्थापित गर्न उहाँ विभिन्न पार्टीका युवाहरूका बीच अन्तरपार्टी सञ्जाल बनाएर विभिन्न क्रियाकलापमा सक्रिय हुनुहुन्छ । उहाँ पार्टीमा प्रौढहरूलाई सम्मान तथा युवाहरूलाई जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता स्थापित गर्न चाहनु हुन्छ ।

शान्तिपूर्ण अप्रिल क्रान्तिले लोकतान्त्रिक राजनीतिक क्रान्तिका मूख्य कार्यभार पुरा भएकाले अब आर्थिक क्रान्तिलाई मूल मन्त्र बनाएर राष्ट्रको आर्थिक÷सामाजिक समृद्धिका लागि सिंगो राष्ट्र एकताबद्ध भएर लाग्नु पर्दछ भन्ने उहाँको दृष्टिकोण रहेको छ । देश बाहिर पोखिएको नेपाली युवाहरूको रगत र पसिनालाई नेपाली माटोमा नै एकाकार गराउनुपर्ने कुरामा उहाँको जोड छ । ‘सम्पूर्ण नेपाली नागरिकले श्रम गर्दै उत्पादनका काममा लाग्नुपर्छ । राष्ट्रिय पूँजी र उद्योगको विकासमा प्राथमिकता दिनुपर्छ । सबैले अनिवार्य कर तिर्नु पर्छ । अनि मात्र देशभित्र रोजगारीका अवसर सिर्जना हुन्छ । युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ,’ उहाँको मूलमन्त्र छ ।

७. देश र विदेशको यात्रा
राजनीति गर्ने मानिसले आफ्नो देशको भूगोल, इतिहास र संस्कृतिको न्युनतम ज्ञान राख्नुपर्दछ भन्ने मान्यता बोक्ने योगेशले नेपालका ७१ जिल्लाको भ्रमण गरिसक्नु भएको छ । भारत, चीन, अमेरिका क्युवा, दक्षिणअफ्रिका, बेल्जियम, पोर्चुगल, जर्मनी, लग्जम्बर्ग, फ्रान्स, जापान, कोरिया, मलेसिया, सिंगापुर, न्युजिल्याण्ड लगायत देश पुगेर त्यहाँको पद्धतिसँग केही मात्रामा भए पनि परिचित हुनु भएको छ ।

८. पार्टी जीवन
०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहनु भएका योगेश भट्टराई पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म काम गर्नु भएको छ । २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौँ महाधिवेशनमा उपत्यकाबाट अत्यधिक मत ल्याई केन्द्रीय कमिटीमा निर्वाचित हुनु भएको थियो । उहाँ पार्टीको नवौं महाधिबेशनबाट पार्टीको सचिव पदमा निर्वाचित हुनुभएको छ । हाल उहाँ पार्टीको प्रचार विभाग प्रमुख हुनुहुन्छ । माक्र्सवादी सिद्धान्तमा विश्वास गर्ने योगेश भट्टराईले मदन भण्डारी, नेल्सन मण्डेला र मार्टिन लुथर किङलाई आफ्नो आदर्श मान्नुहुन्छ । उहाँ अहिंसावादी हुनुहुन्छ ।

फेसबुक पेज

समाचार